किन बढ्दैछ बलात्कार ?

समाजमा दिनप्रतिदिन बलात्कारका घटना बढिरहेका छन् । बलात्कारीलाई यो वा त्यो सजाय दिनुपर्छ भन्ने आवाज त उठेको छ तर बलात्कार न्यूनीकरणका उपाय के हुन् भनेर खासै चिन्ता प्रकट भएको पाइँदैन । समस्याको चुरो पहिल्याइएन भने हाँगा छिमलेरमात्रै समस्या समाधान हुँदैन भन्ने यो ब्लगको तात्पर्य हो ।
बताइरहनु परेन, समाजमा यौन कुण्ठा व्याप्त छ । यौनलाई यति गोप्य बनाइएको छ कि प्रायःको दिमागमा कौतूहलताको भुंग्रो छ ।

यौनका कुरा गरेमात्रै पनि ‘लाज पचेको’ ‘नैतिकहीन’ ‘पतन’ आदि विभिन्न आक्षेप लगाउन र उपमा दिन हामी तम्तयार भइहाल्छौँ ।  यही आक्षेपका कारण मानिसले मनमा अतीशय कुण्ठा पालेका छन् । र, त्यसले निकाश नपाउँदा बलात्कार, यौनजन्य हिंसा आदि विभिन्न रूपमा विकास हुन्छ ।

दुनियाँमा महिलामात्रै यौनहिंसाको चपेटामा पर्दैनन् । अध्ययनले पुरुष पनि बलात्कारको सिकार हुने देखाएको छ । यत्ति हो त्यो संख्या महिलाको तुलनामा निकै कम छ । महिला यौनजन्य हिंसाको सिकार भए बाहिर आउँछ, पुरुषको हकमा ‘सामूहिक बलात्कार’ को सिकार भएमात्रै सार्वजनिक हुने हो त्यो ।

किन कम हुन्छ त पुरुष बलात्कार ?

यो पनि आम मानिसको मगजमा उब्जिने प्रश्न नै हो । सबैलाई थाहा छ, हामी पितृसत्ताको सोच र प्रवृत्तिबाट निर्दिष्ट छौँ, जहाँ पुरुषत्वको मापन नै यौनबाट हुने गर्दछ । मर्दकी दशवटी श्रीमती भन्ने सामाजिक आहान यसैको उत्पादन हो । त्यसैले पनि स्त्रीको इच्छा पुरुषले नकार्न सक्दैन र जुनसुकै रूपमा स्वीकार्छ उसले । इच्छा तिरस्कार गरे ‘नामर्द’ले दण्डित हुनुपर्ला भन्ने भय ऊभित्र हुन्छ नै ।

त्यसबाहेक पछिल्लो समय बालकहरूसमेत यौन दूराचारीको फन्दामा पर्न थालेका छन् । घरेलु कामदारका रूपमा राखेका बालक, अनाथालय तथा छात्राबासमा बसोबास गर्ने बालकहरूमाथि यौनजन्य हिंसा भएको समाचार हामीले नपढेका होइनौँ । तर, यी सबैको सामाजिक कारण भने एकै छ– यौन विकृत मनोदशा ।

कसरी रोक्न सकिन्छ त बलात्कार ?

उमेरको बदलावसँगै विपरित लिङ्गीप्रतिको आकर्षण प्रकृतिकप्रदत्त नै हो । कोहीमा भने अत्यधिक मात्रामा हुन्छ यो । जे कुरा पनि अति भएपछि त्यसले विषको रूप धारण गर्छ र आफैँलाई डस्न थाल्छ । र त, लगाम लगाउनुपर्छ आफैँलाई ।

मनमा अतिशय यौन–भावना खेलाउनु, अश्लिल चलचित्रमा मन डुलाउनु, चरम कल्पनामा डुब्नु, हस्तमैथुनको लती बन्नु, यौन विकृत मनोदशाका वैयक्तिक आयाम हुन् । जति यौन भावना आफूमा पालिन्छ, त्यही पछि गएर बलात्कारमा परिणत हुने हो । त्यसकारण कोही पनि रातारात बलात्कारी बन्दैन ।

त्यसबाहेक हाम्रो संस्कृति, मूल्यमान्यताका कारण पनि यौन कुण्ठाको सिकार हुन्छन्, धेरै । जसरी ज्वालामुखीले कमजोर धरातल पाउनासाथ आफ्नो लाभा बाहिर निकाल्छ, त्यसैगरी कुण्ठित व्यक्तिले आफ्नो चाहना पूरा गर्न कमजोर व्यक्तिको चयन गर्छ । परिमाणतः बालबालिका, अपांगता भएका व्यक्ति तिनको झम्ट्याइमा पर्छन् । र, अपराध ढाकछोप गर्न ललाइफकाइ गर्छन्, पोल खुल्ने नै भएपछि मारी नै दिन्छन् पनि ।

Taken from India TV

के छ त न्यूनीकरणको उपाय ?

यौनमा जति बन्धन खडा गर्यो, त्यति नै यो पासो बन्दैजान्छ । अतः हामी यौनका विषयमा खुल्ला, उदार बन्नैपर्छ । यौन शिक्षा, यौन सचेतना, एउटा उपाय हुन सक्छ । वेश्यावृत्तिलाई कानुनी मान्यता दिने अर्को उपाय हुन सक्छ । आवश्यक व्यक्तिले सुरक्षित तरिकाले उपभोग गर्न दिन हामीले किन कञ्जुस्याइँ गर्ने ?

अतः यौनलाई जति हाउगुजी बनायौँ, जति गुप्त राख्दै गयौँ, त्यति नै यसले अपराधको रूप धारणा गर्दै जाने खतरा टार्ने उपाय यो भन्दा अरू हुन्छ जस्तो मलाई लाग्दैन । आफ्नो शरीरको आवश्यकता पूरा गर्दैमा कोही ‘चरित्रहीन’, ‘अपवित्र’ हुन्छ भन्ने सामाजिक मर्यादाको सीमा रेखा तय गर्दै जाँदा पटकपटक बलात्कारीको फन्दामा, धन्दामा पर्दै गयौँ हामी ।
दक्षिण एसिया महिला बलात्कारमा सबैभन्दा अघि हुनुको कारण हामीले समयको परिवर्तनलाई आत्मसात गर्न नसक्नु नै हो जस्तो लाग्छ ।

किनकि हामीकहाँ छोटो लुगा लाउनेहरूलाई उत्तेजक पहिरन लगाउनेको संज्ञा दिइन्छ र त्यसैले बलात्कार बढाएको हो भन्ने तर्क गर्नेहरू पनि छन् । दुई वर्षकी बालिका पनि दूराचारीको फन्दामा परेकी छन् । उसो भए तिनलाई पनि कुर्कुचा ढाक्नेगरी साडी लगाइदिनु त ? त्यसो त बुर्का लगाउने पनि बलात्कारको सिकार भएका छन् । पश्चिमा मुलुकमा विकिनीमा समुद्रबिहार गर्नेहरू पनि सुरक्षित । अतः बलात्कारको कारण पोसाक होइन, प्रवृत्ति हो ।

त्यसबाहेक मेरो व्यक्तिगत अनुभव पनि छ । मैले केही समय युरोपेली मुलुकको सामुद्रिक तटमा रहेको रेस्टुरेन्टमा वेटरको काम गरेँ । त्यहाँका अधिकांश ग्राहक महिला हुन्थे । र, तिनका पोसाक हाम्रो सामाजिक मर्यादा भन्दा निकै छोटा र प्रायः त विकिनीमै हुन्थे । तर, कोही पनि महिला बलात्कारीको झम्ट्याइमा परेको या तिनीहरूलाई यौन–दृष्टि लगाएको मैले पाइनँ ।

अतः बलात्कारको कारण पहिल्याउँदा साडी र स्कर्टबीचको सामाजिक दूरी नाप्ने भन्दा पनि यौनका विषयमा हामीले खडा गरेका सामाजिक पर्खालहरूलाई खुला गराएर मात्रै न्यूनीकरण गर्न सकिन्छ । अन्यथा बलात्कार बढिरहन्छ । हामीले सामाजिक सञ्जालमा आँसु बगाइरहनुको कुनै अर्थ हुँदैन ।

उक्त लेखलाई बाह्रखरी अन्लाइनमा पढ्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Comment