लिलामे माइलो : समाजको अनुहार !

२०७२ वैशाखको भूकम्प हाम्रो दिमागबाट अझै दूर भएको छैन । आइतबार बिहान ५ बजेको पराकम्पले पनि साढे तीन वर्षअघिको भूकम्पलाई ताजा बनाइदियो । थातथलो गुमाएर त्रिपालको ओतमुनि जीवन काटिरहेकालाई त पराकम्प पनि दुस्वप्न बन्यो, शायद ।

काठमाडौंको नयाँबानेश्वर, थापागाउँस्थित कुञ्ज थिएटरको हलमा शनिबारसम्म मञ्चन भएको नाटक ‘लिलामे माइलो’को आमुख तस्बिरले पनि धेरैलाई भैँचालोकै झल्को दियो ।

भूकम्पको झट्काले निल्न बाँकी भग्न घर र त्यसकै बोझले थिचिएजस्तो मानिस । ‘लिलामे माइलो’को मुख तस्बिर हो । आमुख चित्रमा आँखा पर्नासाथ धेरै लख काट्छन– ‘लिलामे माइलो’ पनि भूकम्पले सिर्जना गरेको दारुण र विद्रूप कथा हो ।

तर, नाटकको शुरूआती सिनले नै त्यसको खण्डन गर्छन् । त्यसो त राज्य–सत्ताबाट सिर्जित गरिबीको दुस्चक्रमा फसेको लिलामे माइलोको जीवन आफैँमा भैँचालोभन्दा कहाँ कम छ र !

लिलामे माइलाहरूका सपना भैँचालोबाट क्षतिग्रस्त घरझैँ खण्डहर छन् । लिलामे माइलाहरू त्यही खण्डहर घरमुनि निर्मम किचिएका छन् । र, निरुपाय बनेका छन् ।

कुञ्ज थिएटरमा मञ्चित ‘लिलामे माइलो’ जत्तिकै छ आम उपेक्षित, उत्पीडित र सवाल्टर्नहरूको जीवन । न उनीहरू बाँच्न सकेका छन् । न त मर्न नै सक्छन्, सजिलरी ।

पछिल्लो समय नेपाली रङ्गमञ्च नेपाली मौलिक स्वादव्यादबाट टाढा पुगिरहेको प्रतीत हुन्छ । आयातित नाटक मञ्चन गर्ने होड नै चलेको छ सहरमा । तर, यसको भिन्न लयमा छ– ‘लिलामे माइलो’ ।

यसले नेपालको सुदूरपूर्वी पहाडको मौलिक स्वादमात्रै पस्किँदैन । मगर जातिको पुस्तैनी रीतिथिति, चालचलन र रहनसहनसँग चिनापर्चीसमेत गराइदिन्छ । दर्शकको आँखाका भान पर्दैन– नाटकको सेटअघिल्तिर बसिरहेको छु । दर्शक त ठान्छन्– म कुनै आदीम मगर गाउँ पुगेको छु । यो नै ‘लिलामे माइलो’को सफलता हो ।

मगरजातिको क्लिस्ट रहनसहन र बान्कीपूर्ण संस्कृतिलाई मञ्चमा सादृष्य पस्कन सक्नु चानचुने कुरा होइन । निर्देशक समूहले ठूलै जोखिम उठाएको भान हुन्छ । तथापि कतिपय कलाकारले मगर संस्कृतिबारे राम्रोसँग परिचय पाउन नसक्दा कतैकतै दाँतमा ढुंगा लागेको भान नहुने होइन ।

नाटकको पृष्ठभूमिमा बज्ने हुर्रा ‘लिलामे माइलो’को प्राण हो । बेलाबखत प्रयोग हुने मौलिक स्वादका टुक्काले नाटकलाई जीवन्त बनाउन भरपूर सघाएका छन् ।

प्रकाश र ध्वनीको संयोजन चित्तबुझ्दो छ । टाढाबाट प्रकाश छर्न मिलेको भए सुनमा सुगन्ध हुने लख काट्न सकिन्छ । केहीको अभिनयलाई अपवादमा छाड्ने हो भने, कलाकारको अभिनय धक फुकाएर तारिफ गर्न योग्य छ । दृश्य अनुरुप अभिनयकला मुखरित गर्नसक्नुले कलाकारमा दृश्यमा जीवन भर्न सक्ने क्षमता छ भन्न गाह्रो हुँदैन । नेपथ्यका कलाकारहरूले पनि नाटकलाई जीवन्त बनाउन सक्दो भूमिका निर्वाह गरेका छन् । र, धेरैपछि संवेग र आवेगले भरिपूर्ण नाटकसँग दर्शकको जम्काभेट भएको मान्न करै लाग्छ ।

नाटकमा प्रस्तुत घटना र दृश्यले हाम्रो देश र समाजलाई नराम्रोसँग चिमोटेको छ । दृश्यमा देखाइने कला संस्कृति, प्रेम, यौन हाँसो, रोदन, विरह, उत्सव र कलहका माध्यमबाट मानव जीवनको अन्तर्दशा ओकल्न पूर्ण रुपमा सक्षम देखिन्छ, नाटक । चियापसलमा लुडो खेल्न व्यस्त युवा, उधारो कारोबार र मलेसियाको स्वप्न नेपाली समाजको पछिल्लो मनोदशा हो । त्यसको सचिव चित्र मञ्चनमा प्रस्कन सक्नु ‘लिलामे माइलो’को सफलता हो ।

कान्छा र कान्छीको गृह–कलहले मानव जीवन र यौन मनोविज्ञानको सचित्र व्याख्या गरिदिन्छ । जसलाई थप टेवा दिएको छ– माइलीको असन्तुष्टिले । असन्तुष्टिको अग्नी–ज्वाला कलहमा रुपान्तरण हुँदा घर कसरी जीर्ण हुन्छ र द्वन्द्व आकिर्ण हुन्छ भन्ने बलियो सन्देश पनि हो– ‘लिलामे माइलो’ । सानुकाजीजस्तो द्वैध चरित्र तपाईं हाम्रै आँखा अगाडि छन् । आफन्त, साथीभाइ, इष्टमित्रको आवरणमा तिनले हामीबाट कसरी फाइदा उठाइरहेछन् भन्ने भाव ओकल्न सफल छ– ‘लिलामे माइलो’ ।

समाजमा छासमिसिएका चरित्र टिपेर पात्रहरूको माला गाँसिएको छ । हाटबजारमा माइलोले प्याकुलीको विरह सुनेर उसलाई मेलाबाट पुनः घरमा ल्याउन खोज्नु सहभाव र सहअस्तित्वको परिचायक बनेका छन् । शुरूमा छुट्टिँदा अंश माग्नु, मेलाबाट फर्किएपछि देवरको विरोध सहन गर्न नसकेर माइती (दिवंगत पिताको घर) लिएर जाने दृष्यले महिला सशक्तिकरणको पैरवी गर्न खोजेका छन् ।

श्रीमतीकै निम्ति दोस्रोपटक घरबार त्यागेको माइलो उसकै कारण दोस्रोपटक पनि जिन्दगीबाट लिलाम हुनपुग्छ– यो नै नाटकको शक्तिशाली विम्ब हो ।

अन्त्यमा, माइलो तपाईंहाम्रै समाजको एक उत्पीडित पात्र हो । जो ‘आफ्नै’हरूबाट उपेक्षित, उत्पीडित छ– मन्दबुद्धिका कारण । श्रीमतीबाट तिरष्कृत छ– असक्षताका कारण ।

दाजुभाइबाट अपहेलित छ– सानो हुनुको कारण । साथीभाइबाट बहिष्कृत छ– निरीह हुनुका कारण । साहु राहूतुल्य छ– ऋणी हुनुका कारण । पाइलोपाइलोमा दुव्र्यवहार खेप्नु परिरहेछ– निम्छरो हुनुका कारण । अनेक पीरको भार सहनु परेको छ– जीवित हुनुका कारण ।

माइलो सन्तानको उपमा अब त लोपोन्मुख नै भैसक्यो । तर एक–एक माइलो हामीभित्र छ– जो सपना र समाजको बोझले आकण्ठ थिचिएको छ ।

 

उक्त लेखलाई बाह्रखरी अन्लाइनमा पढ्न यहाँ क्लिक गर्नुहोस् ।

One Response

  1. Arjun acharya
    May 1, 2020

Leave a Comment