पढाइले पढाइ खाएपछि …।

बाबु पढ् ।

पढेपछि ‘सुख’ पाइन्छ ।

अक्सर बाको मुखबाट सुनिने शब्द थिए यी दुई वाक्य ।

मलाई सुखसँग मतलब थिएन । पढ् भनेको सुनेपछि चै घोक्रो सुक्नेगरी चिच्याएर किताबमा भएका अक्षर रट्नु अर्थ हुन्थ्यो मेरा लागी । कति कति बेला त पढ् भन्ने शब्द सुन्नेबित्तकै नौनाडी गलेर आउन्थ्यो । ह्या कति पढ् भन्न सकेको होला ! कहिलेकाहीँ त बाबु खेल्न जा भनेको सुन्न पाए पनि यी कानले कति आनन्द मान्ने थिए होलान् । तर अफसोस खेल्न जा भनेको कहिल्यै सुन्न पाएनन् । बरु मुख थाकेपछि लठ्ठि बोल्थ्यो, बाको हातबाट ।

लगभग वर्ष पाँचको जत्ति भएको हुँदो हुँ । कक्षा एकमा गएर दैनिक एक सिसाकलम हराएर आउने जागिर पाएको थिएँ । तलब दिनको एक रुपैयाँ । घरमा फर्किदा बा काममा गएका हुन्थे । मैले पढ्नु पर्थेन ।

खुसी हुन अरु के चाहियो र ? बैनी सानी थिई । खेल खेल्ने साथी थिएनन् । खेल पनि के के हुन्छ, कहाँ थाहा हुनु ? तैपनि हजुरबुबा, हजुरआमाको वरिपरि पुच्छर लाग्न पाएपछि, अहिले ‘पब जी’ खेलेजत्ति मज्जा !

प्रायः मेरो खुसी धर्तिमा टेक्न नपाउदै आकाशको चक्कर काट्न पुग्थ्यो । जब देख्थे नेपथ्यबाट, मेरा बा नहरका डिलैडिल घरतर्फ आउँदै छन् । बाको छायाँमात्र देखेपनि मेरो सात्तो उडिहाल्ने, कारण बाको मुखभन्दा धेरै हात बोल्थ्यो । अस्तिको झापडको डाम गालामा मेटिए पनि दिमागमा ताजै छ ।

सधै साँझमा स्यालले झैँ हुइया गाउनुभन्दा त पण्डित बन्नैमा बेस हुन्थ्यो । साबिक ताजनबाट जोगिन म खुरुरु…..कोठाभित्र कुद्थे । मेरा हातमा त किताब हुन्थे, तर नजर ढोका भएर बहने दृश्यतर्फ ।

गाँउमा बिजुली बत्तिले पाइलो हालेको थिएन । टुकीले काम चलाउनु पर्थ्यो । टुकी पनि एउटा, भान्छामा हुन्थ्यो । रात परेपछि दिनले सुख पाएपनि मेरो पढाइले सुख पाउन्थेन । कहिले हजुरबुबालाई दुनोट सुनाउन पर्थ्यो त कहिले बालाई अंग्रेजीका शब्दार्थ । मेरा बाको आदेशानुसार । मेरा बालाई लाग्थ्यो- अंग्रेजी शिक्षा संसारको सबैभन्दा महत्वपूर्ण कोहिनुर हिरा हो । त्यसैले म किताबको किरा बन्न बाध्य थिएँ ।

मेरा बालाई लाग्थ्यो- अंग्रेजी शिक्षा संसारको सबैभन्दा महत्वपूर्ण कोहिनुर हिरा हो । त्यसैले म किताबको किरा बन्न बाध्य थिएँ । हामीले अंग्रेजी पढेको देख्न पाउनु सबैभन्दा निको लाग्ने वस्तु हो उहाँलाई । अहिलेपनि वहाँका दिनहरु घाममा बसेर अंग्रेजी शब्दार्थ खोज्दै बितिरहेका होलान् ।

छोरो त बा कै हुँ तर स्वभाव ठ्याक्कै उल्टो । एक दशक गुजरातमा रात काटेकाले हुनुपर्छ, उहाँको दिमागमा अंग्रेजी भाषाको उपनिवेश बाँकी थियो । मलाई मुना र सामान्यज्ञान खोजी खोजी पढ्नुपर्ने । उसो त मेरो नम्बर धेरै अंग्रजीमा नै आउन्थो । गाँउमा जान्ने छ भनेर फुर्काउनेहरुको पनि कमी थिएन । फेरि पनि मान्छे आफूसँग भएको द्रव्यसँग कहाँ सन्तुष्ट हुन सक्छ र ? बालाई मेरो उपलब्धि कहिल्यै पूर्ण लागेन ।

दिनले महिनामा फड्को मार्यो । महिनाले वर्षमा । बाबुछोराको लुकामारी खेलमै जीवनको एक दशक बितिसकेछ । छोरो एस.एल.सी. दिने भो । बाको अपेक्षा उत्कर्षमा छ । मैले आफ्नो हडबडे बानी अनुसार जानेको मध्य पनि केही प्रश्नका उत्तर बिगारेर आएको छु । तैपनि प्रथम श्रेणी आउने अपेक्षा मरेको छैन ।

तिन महिनाको अन्तरालपछि नतिजा प्रकाशन भयो । मेरो अपेक्षा बाच्न सफल भएछ । म धरमरिदैँ प्रथम श्रेणीमा अड्केछु ।

गाँउमा सरकारी स्कुलमा पढेर प्रथम श्रेणी आउनु भनेको अहिले काठमाडौंमा नब्बे प्रतिशत कटाउनु जस्तै थियो ।

अब छोरोले साइन्स पढ्छ—बाको अभिव्यक्ति ।

कम्प्युटर साइन्समा अड्केको मेरो मन फेरी बाउँडियो । झन् एकजना आफन्त अंकलले घरैमा आएर बखाने । परिवार सँगै मलाई पनि साइन्स पढेपछि त सिधै आइन्स्टाइन बनिन्छ क्यारे जस्तो महशुस भयो । तिन कक्षा पढ्दा डाक्टर बन्ने सपनाले अहिले आएर इन्जिनियरको काँचुली फेरीसक्या छ । मनमा सपनाका अनेक चङ्गा उड्न थालिसके, लट्टाई चुडाएर ।

एकदिन घरमा सबै भएको बखत रेडियोले सरकारी क्याम्पसको विज्ञापन फुक्यो । खर्च सस्तो पर्छ भनेर बा त्यतै पठाउन लालायित भए । आज्ञा शिरोपर भयो । डेरामा बसेर पढियो- साइन्स । जानेर नजानेर घोकियो गाइखाने विद्या ।

समयले कोल्टे फेर्यो आफ्नै सुरमा । बोर्डले फेरी परिक्षाको बोझ थोपरीदियो शिरमा । गइयो केन्द्र, दिइयो परिक्षा । हलबाट बाहिर निस्कदा पाससम्म हुने आश जाग्यो । डिभिजनको आश पनि कछुवाको तालमा पछिपछि आउँदै त थियो तर आइपुग्छ कि नाइँ ठेगान छैन ।

आषाढ अन्तिमतिर कलेज खुल्यो । कक्षा १२ मा भर्ना भएँ । फेरी कलेज धाउन थाले । यसपाली घरैबाट धाउने हिम्मत जुर्यो । १६ वर्षे ठिटो बनेर होला । साइन्स पढेर हुने उपलब्धिका सपना आविष्कार गर्दा-गर्दा थाकेको छु अहिले । कहिले इलेक्ट्रिक, त कहिले मेकानिकल । अप्टिक्समा रुचि छैन, यहाँसम्म आइपुग्दा । तर अन्तरिक्षको खोज सम्बन्धि सानो च्याप्टर चिहाइरहन मन लाग्छ ।

कक्षा ११ को परिक्षा दिएको दिमागले बिर्सिए पनि, परिक्षा बोर्डले बिर्सिदिएन । पुसको अन्तिम दिन नतिजाफल आएको रहेछ । थाहै नपाइ कलेज पुगेको थिएँ । पुसे ठण्डिमा बिहान बिहानै तात्तातो तिन आलुको परिकार आइपुग्यो मेरो भागमा । विश्वाश नलागेर क्यार्नु ? फेर्न नमिल्ने ।

घर आएर साइकल फाँले । जाँगर मरे जसरी । आफू गुल्टिएको कुरा कसैलाई भन्न पनि भा’को छैन । यत्रो पैसा खर्च गरेर पढाएको भन्न थाल्छन् । त्यसमाथी झन् तिनवटा तारा फल्या छ । बल्ल तल्ल आमासम्मलाई सुनाएँ । तिनवटा लाग्यो भन्ने हिम्मत जुटेन । दुईटा लाग्यो भनेर कुरो मिलाएँ । बालाई नभनिदिने शर्तमा ।

खहरे बन्ने होडमा मेरो पढाइ पुसे हिउँदमै सुक्यो । उता बहिनी नदीझैँ सुस्तरी बगेर स्नातकोत्तरको सागर चुम्न थालिसकी । खहरे बन्ने होडमा लाग्दा म बीचमै निदाएँ ।

खरायोको रफ्तार जस्तो मेरो पढाई अन्त्यमा कछुवा र खरायो कै दौडजस्तो बन्यो । आजको दिनसम्म आइपुग्दा बैनीले कछुवाको गतिमा स्नातकको दौड जितिसकी । म खरायो बन्ने चक्करमा बिच-बिचमा निदाइरहेछु ।

खरायोको रफ्तार जस्तो मेरो पढाई अन्त्यमा कछुवा र खरायो कै दौडजस्तो बन्यो । आजको दिनसम्म आइपुग्दा बैनीले कछुवाको गतिमा स्नातकको दौड जितिसकी । म खरायो बन्ने चक्करमा बिच-बिचमा निदाइरहेछु ।

विगत सम्झदा बालाई पनि सँगै सम्झन भुल्दिनँ । उहाँले त मलाई शब्दार्थ मात्र सिकाउनु भो । अंग्रेजीमा हुने साध्यहरु घोक् भन्नुभएन । माथिल्लो कक्षामा पुगेपछि उत्तर पनि अंग्रजीमा नै लेख्नुपर्छ भनेर भन्न विर्सनुभएछ । अंग्रेजी मात्र होइन नेपाली पनि अंग्रेजीमै पढ् किन भन्नु भएन होला ?

मेरा बा तपाइले जस्तै अरुले पनि अंग्रेजीलाई माया गरेरै त होला त्यतिबेला मैले विज्ञान विषय नपाएर ‘साइन्स’ पढ्नु परेको । यदि मैले विज्ञान पढ्थे त आजपनि मेरो खरायोको रफ्तार उस्तै रहन्थ्यो ।

सायद !!!

यस लेखलाई सल्लेरी खबरमा पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

Leave a Comment