उसले राजनीति गर्यो !

 

उसले बालखाको मुस्कानमा राजनीति गर्यो,
हाँसोमा राजनीति गर्यो ।
उसले प्रेमीको खुशीमा राजनीति गर्यो, प्रेमीकाको आँशुमा राजनीति गर्यो ।
उसले यौवनाको यौवनसँग राजनीति गर्यो, योनीसँग राजनीति गर्यो ।
तर यत्तिमै उसको प्यास मेटिएन, उसले ‘उसको’ जीवनसँग राजनीति गर्यो ।

उसले हत्यामा राजनीति गर्यो,
हिंसामा राजनीति गर्यो ।
उसले न्यायमा राजनीति गर्यो, निसाफमा राजनीति गर्यो ।
उसले आमाको ‘आश’मा राजनीति गर्यो, बाबुको ‘लाश’मा राजनीति गर्यो !
तर पनि उसलाई शान्ती किन मिल्थ्यो र ?
उसले आफ्नै श्रीमतीको सिन्दुरसँग राजनीति गर्यो ।

उसले भाषामा राजनीति गर्यो,
भेष-भुषामा राजनीति गर्यो ।
उसले जातमा राजनीति गर्यो,
जातीयतामा राजनीति गर्यो ।
उसले विभिन्न भु-भागमा राजनीति गर्यो !
त्यसपछि भुगोलमा राजनीति गर्यो,
फेरीपनि, उसलाई त्यतिले नपुगेर,
उसले राष्ट्र र राष्ट्रियतामा राजनीति गर्यो ।

उसले विद्यार्थी बनेर राजनीति गर्यो,
उसले शिक्षक भएर पनि राजनीति गर्यो !
उसले शिक्षामा राजनीति गर्यो,
पठन-पाठनमा समेत राजनीति गर्यो,
उसले स्कुल कलेजका भित्तामा राजनीति गर्यो,
राज्य सत्तामा पनि राजनीति गर्यो !
तर त्यतिले उस्को चित्त धरिएन,
उसले विद्यार्थीको भविष्यमा राजनीति गर्यो ।

अब,
उसले राजनीति नगरेको गाउँ रहेन !
भाषण नगरेको ठाउँ रहेन ।
उसले बोल्नेको मुखमा राजनीति गर्यो !
लेख्नेको कलममा राजनीति गर्यो ।
हो !
त्यसदिन देखि मैले लेख्न छाडिदिए!
जुनदिन
उसलाई मसीले नपुगेर,
उसले मेरो कलममाथी राजनीति सुरु गर्यो !
तर,
मैले आफुले आफैलाई प्रश्न गर्नुपर्छ !
कतै मैले लेख्न छाडेर, ‘म’ स्यमंसँग त राजनीति गर्दै छुईन ?

Leave a Comment