‘अ’कथन

नेपाली भाषाविज्ञानको पहिलो अक्षर ‘अ’ । प्रारम्भिक स्थान ओगट्न आइपुग्ने जिनिस भएर पनि अ आफैमा शुभ होइन । पहिलो वस्तु त खुसीको कारक वा शुभ लक्षणयुक्त हुनुपर्ने हाे । तर, हाम्रो अ जहाँ जोडिन पुग्छ, त्यहाँको सकारात्मक भाव खरानी घस्न पुग्छ । ठ्याक्कै नेपालको कुनै घोटाला खाउबाको नामबिना अधुरो रहेजस्तै अबिनाको नकारात्मक भाव अपुरो हुन्छ ।

म भुत्तेको कुरा यत्तिकै कहाँ पत्याउनुस् भन्या हुँ र हजुर ? उदाहरण नै र्हेनोस् न । वाइड बडीदेखि पेटको गडबडी सबै उहाँकै वरिपरी भएर बग्दो रच । अनि हाम्रो अ पनि जहाँ पुग्यो त्यहीं दाग लाएर हिँड्छ । उदाहरणको लागि अयोग्य, अभाव, अश्लील, अतृप्त, अन्याय, अराष्ट्रिय, अमानवीय, अहम्, अलिखित, अकथा आदि इत्यादिलाई छिमल्नोस् न । मलाई आज यहीं नकटो अको चर्चा गरेर तंपाईको समय खेर फाल्ने इच्छा भयो । अनुमति दिनोस् न है । नदिए पनि कुन्नि के सिति हो । म आफ्नो बकबक रोक्ने पक्षमा छैन ।

लौ आँखाले ध्यान दिएर सुन्नोस, भाषाविद्लाई चुनौति पस्किन सकुँ म त्यस्तो कुनै ज्ञानपुरुष पक्कै होइन । यद्यपि मनको कुण्ठा पोख्ने अधिकार आच्या धिक्कार त जस्तोसुकै अज्ञानीलाई पनि हुन्छ । मेरो आशय म ज्ञानी र अज्ञानीको बिचमा निदाउँछु भन्ने हो । उदाहरण खोज्नु भा हो ? संसद गाउँको प्रधानपञ्च चिन्नु भा कै होला के रे । खुकुरी प्रसाद गोली । हो ठ्याक्कै ह्वाँजस्तै । शास्त्रमा ब्रम्हदेवसँगै ॐ ध्वनि प्रतिध्वनित भएको भनेर गाउँका तन्नेरी बाहरू चर्चा गर्छन् । अ, उ र म को समागमबाट बन्या ॐ संसारकै शक्तिशाली शब्द अरे । समानुपातिक कोटा पछ्याउँदै त्याँ पनि हाम्रो अ पहिलो स्थान दावा गर्न पुगेछ । हेर्नोस् त हाम्रो अ कति चलाख रहेछ त्यतिबेला पनि । अ चैं बाहुन जातिको परेछ क्यारे । त्यसपछि भाषाविज्ञानमा आफूलाई पहिलो वरियतामा राख्यो, भगिनी आ लाई दोस्रोमा । पद महत्वपूर्ण त्यसै भएको रहेनछ क्या हजुर ! अ को राजनीतिले सिकाएको रहेछ ।

फेरि पनि दावा गर्ने हक मलाई छैन है । लख मात्र काट्या हुँ । कुपिण्डेले रत्नपार्कको हाँगोमा बसेर सुसेल्याजस्तै क्या । हक दावा गर्नलाई नागरिक हुनुपर्छ रे । आफू यस धर्तिकै अनागरिक परियो हेर्नोस् । तंपाई भन्नुहोला देशको अनागरिक त हुन सम्भव छ तर धर्तीकै कसरी ? कुरो कुमालेको चक्र जत्तिकै सिधा छ । राष्ट्रको अनागरिक सुपाच्य भाषा हुन्छ भने धर्तीको अनागरिक हुन किन अपाच्य ? छ जवाफ ? छैन भने चुपचाप तलका हरफ पढ्नोस् । नत्र खेत खन्न जानोस् । फेरि वर्षभरी भुँडी भोकै रहला नि । मेरा बेफ्वाँकका गफ र चुट्किला सुनेर त धान पक्कै फल्दैन होला नि ?

तंपाई र मेरो पाउ एकै धरामा अडिएका छन् । धरातल एकै भएर पनि हामी विभाजित छौँ । धरती विभक्त छ । भाषा-भुषा, देश-भेष, सीमा-सरहद, हद-बेहद, सही-गलत, जायज-नाजायज आदि इत्यादिमा । उपर्युक्त लक्षणानुसार तंपाई मानवमा पर्नुहुन्छ । तर, म अमानव हुँ । मसँग मानव हुनुको योग्यता छैन । उक्त योग्यता मैले वर्षौँअघि गुमाइसकेको छु । तंपाईकी प्रेमिकाले तंपाईलाई गुमाएको जस्तै म यस पृथ्वीको एक्स मानव हुँ ।

एक्स देखेर चसक्क लाग्यो होला हैन ? अगि नै भन्या हुँ त म अयोग्य छु । तंपाईबाट सिर्जित मान्यताहरुभन्दा पर । सगरबाट धुँवा खसेर रेगिस्तानमा पलाएको प्राणी हुँ म । हुनुपर्ने भन्दा बिल्कुल उल्टो । सुन्छु, गोपालेहरुको लोकतन्त्र हुबहु मेरै ढाँचाको छ अरे । अको बखान छिमल्दा छिमल्दै म त अज्ञातवस् कहाँ पुगेछु कहाँ ! अतृप्त जीवनको अकल्पनीय यात्रामा वरपरका भड्काउप्रति यति धेरै मोहित हुन्छौँ कि सजगता काल्पनिक हुन जान्छ । मलाई नै हेर्नोस न्, अल्झिएको छु । धर्तीको अनागरिक भएर पनि धर्ती छाड्न सकेको होइन । दुःख त तब लाग्छ, जब देख्छु आफूभन्दा बुद्धिमान ठहरिएका मानवहरू म अमानव भन्दा धेरै रुमल्लिएका छन् । अरेलीका काँडामा बरेलीका झाँङजस्तै । भोगको भोकले बर्मालाई शर्मा र शर्मालाई शर्मीलासम्म बनाइ दिँदो रहेछ ।

फेरि त्यताका सत्यको छायाँमा अड्किएका सफेद झुटले उसैको बुट टल्किएको हुन्छ । यहाँनेर घरमा पाहुना आइरहने सूर्यभक्तलाई सम्झिन नभुल्नुस् है ! सृष्टिकालदेखि आजको युगसम्म आइपुग्दा मानिसले समभावलाई डाइनाेसर कालमा धकेल्दिइ सक्यो । समभावको समलाई अहमकाे अले भेदेर मानिस अभावको दबाबमा एक मृत्यु बाँच्दैछ । अकालमा अहम् मात्र एक शेष सत्य हो । हेर्नोस् न कस्तो अचम्म क्या ईश्वरको पाठशालामा त मान्छेले सहृदयी हुन सिकेर आएथ्यो । त्यहाँदेखि यहाँसम्म आइपुग्दा उसले कुन गुरूकूलको सोमरस पान गर्यो होला ? ती गुरू पक्कै ईश्वरको सृष्टि संसदका प्रतिपक्षी हुनुपर्छ । नत्र किन ईश्वर अश्मिबाट सिधा अहम् ब्रम्हास्मीको मन्त्र जप गर्न थाल्यो ? हनुमानले रामलाई भगवान् मानेझैं हामीले पनि मान्दिदा हुँदैन थ्यो ? कि त्यतिबेलामा बिद्रोह गर्नेहरु पनि म जस्तै अनागरिक थिए हो ? अचेल जस्तै त्यतिबेला पनि पृथ्वी आफ्नै विधान खोज्दै दरबार-दरबार लछारिन्थिन् र ? मनमा अनेक प्रश्न पो आउन थाल्दैछन् त ! धत् अमानवलाई बोल्ने मात्र होइन सोच्ने हक पनि छैन भन्ने झण्डै भुलेको ।

आजको मानिस जति रागी,द्वेषी र लालसी पूर्वकालमा पनि थिए होला ? यदि थिए त तिनले पूर्वजबाट सिकेर जगत सुन्दर बनाउन किन असफल रहे ? युग परिवर्तनका परिवेत्ताहरुले यसबारे बखान्न भूले कि ? खैर स्मृतिका पानाहरु विस्मृतिमा परिणत हुनु पनि मानव चोलाकै एक अशं हो । शाश्वत सत्य हो त्यसैले यसलाई दण्डनीय अपराध करार गर्न मिल्दैन । राय दिएको होइन । शाश्वत नियम मान्नेलाई कुनै दण्डभोग उल्लेख छैन । सबैले एकैसाथ र्हेनु चैं नाजायज हो कि होइन ? ईश्वरको हिप्पोक्रेसी होला । मान्छेले फटाहा हुन त ईश्वरबाटै सिकेको रहेछ त !

मान्छेलाई सत् चरित्र निवार्ह गर्न अह्राउने ईश्वरमा पनि आफू हुनुको घमण्ड नहोला र ? त्यसैले अहमवाद कालजयी छ । दम्भको खम्बा मान्छेको अस्थिपञ्जरसँगै गाभिएको हुन्छ । मान्छेमात्र किन ? धराका जीवजन्तु पनि यहीं घमण्ड र दम्भको आडमा विभक्त छन् । सहरका बिजुलीका खम्बादेखि जंगलका सालका ठुटासम्म अहमवाद ह्वास्स नाकसम्मै आइपुग्छ । कुकुरदेखि ढुकुरसम्म अहमवादको शिकार छन् ।

उता अहम् ब्रम्हास्मी भजाए । आफूले आफैलाई ईश्वर मान्न सिकाए । यता मुक्तिको लागि चैं फेरि उसकै नाम जप्नु पर्ने अरे । ईश्वर पनि आजैका दिनदेखि अईश्वर हो । आफैले आफ्नो सत्य परिर्वन भएर असत्य बनायो । हाम्रा देशका ठालू पनि त्यहीं अईश्वरबाट दीक्षित हुनुपर्छ । अचेल अईश्वरका नाम जपेर खान लाउन पाइंदैन । भोको पेट भरिन्न । तर, मान्छेको नाम जपेमात्र सात पुस्ताको उद्दार सम्भव छ । अईश्वरले आश देखाएको मरेपछि स्वर्गको आभास चर्मचक्षुले गर्न पाइन्छ । त्यसैले अईश्वरको नाम जप्नुभन्दा मान्छेकै नाम जप्नु श्रेयस्कर हुन्छ । पत्यार नलागे स्याल दरबारको आँखीझ्याल चिहाउन जानुस् ।

मलाई हुँडारहरुको बारेमा गफिनु अनुचित लाग्छ । अईश्वरले सृष्टिको अधिपति आफूलाई घोषित गरेको भएतापनि यहाँ मान्छेको राज चल्छ । काला मान्छे, सेता मान्छे, गोरा मान्छे, खैरा मान्छे, वनमान्छे, थरि थरिका मान्छेले आफ्नै ढंगबाट शासन चलाउँदै छन् । एक मान्छेको राजमा दोस्रो मान्छेको प्रवेश बर्जित छ । मान्छे, मान्छे हुन मान्छेबाटै अयोग्य ठहराइन्छ । त्यसैले मलाई बन्नु छैन मान्छे, हुनु छैन मान्छेको देशको नागरिक । म एक अघोषित अमानव हुँ । स्वघोषित अनागरिक ।

मान्छे चिनाउने उत्तम तस्वीर आँखाभन्दा अर्को हुनै सक्तैन । ऊ आफूलाई जतिसुकै शान्त र शालीन देखाउन प्रयास गरोस्, उसको क्लिष्टता आँखामा प्रतिविम्बित हुन्छ । म भने यस असुविधाबाट मुक्त छु । किनकि म अमानव हुँ । तंपाईलाई लागि रहेको होला तँ छुसी चैं अमानव कसरी भैस ? लौ आँखा तिखा पारेर सुन्नुस् मैले मान्छेको म र अईश्वरको अ दुबै त्यागेर अ र म को टकरावबाट आफूलाई मुक्त गराएको छु । प्रकृतिको भौतिक विधानबाट मुक्त हुन नसकेपनि अभौतिक(गुण र दोष) विधानबाट मुक्त हुने प्रयासमा छु । यो प्रयास अनित्य छ । अईश्वरको अनीति विरुद्ध आवाज उठाउने म त्यो विद्रोही अमानव हुँ जो राक्षस मानिस भएको हेर्न चाहन्छ । आफू अमानव भएता पनि तंपाईलाई मानव नै रहनोस् भन्न चाहन्छु । कस्तो उडिया रहेछ भन्नुहोला तर अमानव हुन कठिन छ । यात्राको सुरुवात मै मान्छेको भक्ति छाड्नुपर्छ । अहम् ब्रमास्मी छाडेर अहम् अस्मिमात्र मान्न पाइन्छ । अनि जबसम्म जगतमा भोक र भोग कायम छ तबसम्म अहम् त्याग्न सकिदैँन । अईश्वरले भोग र भोकको पासो मान्छेको गलामा फ्याकेर अलप भयो । मान्छेहरू त्यो पासोलाई सुल्झाउन भन्दा उल्झाउनमा मग्न छन् । अईश्वरको अमेरिकी नीतिले आफूलाई छाड् । म कहाँ आईज अनि खुसी र शान्ति दिन्छु भन्छ । त्यो पनि अमेजनको घनघोर बाटो छिचोलेर । त्यसैले त्यो नीति होइन । अनीति हो, अनैतिक हो । त्यस्तो आफैलाई अहित हुने कार्य गरेर अमानव बन्नुभन्दा यथा मानव नै रहेको बेस होइन र ? यस अकथामा अमेजन र अमेरिका जोडिसकेपछि अझै आर्तनाद गाउन मन थ्यो ! तर अर्को पटक । आज समयको नेटोले शैल्यको कुईनेटो काटेर पल्लो अपि पुगिसकेछ । तंपाईको अमूल्य सात मिनेट बर्बाद भैसकेछ । एक अमानवको अकथन सुन्न पुनः लालास जागे सल्लेरीडाँडा घुम्दै आउनु होला । अहिलेलाई अलप । अलक निरञ्जन ।

( फकिर मुशाफिर, २०२० )

उक्त लेखलाई सल्लेरीखबरमा पढ्न यहाँ क्लिक गर्नुहाेस् ।

Leave a Comment